Back

ⓘ राष्ट्र सङ्घ




राष्ट्र सङ्घ
                                     

ⓘ राष्ट्र सङ्घ

राष्ट्र सङ्घ, विश्वव्यापी पहिलो अन्तर्राष्ट्रिय सङ्गठन थियो जसको मुख्य उद्देश्य भनेको विश्व शान्ति कायम गर्नु थियो। यसको स्थापना १० जनवरी १९२० मा, पहिलो विश्व युद्धको समाप्ति र पेरिस शान्ति सम्मेलन पश्चात् भएको थियो भने विघटन २० अप्रिल १९४६ मा, भएको थियो।

सङ्गठनको सम्झौतामा गरिएको उल्लेख अनुसार यस संस्थाको प्राथमिक लक्ष्य भनेको सामूहिक सुरक्षा र निशस्त्रीकरण मार्फत युद्ध रोक्नु र वार्ता र मध्यस्थता मार्फत अन्तर्राष्ट्रिय विवाद समाधान गर्नु थियो। यस सम्बन्धित सन्धिहरूका अन्य सम्झौतामा श्रम अवस्था, जन्मजात बासिन्दाहरूको उपचार, मानव र लागूऔषधको तस्करी, हतियारको व्यापार, विश्वव्यापी स्वास्थ्य, युद्धबन्दी र युरोपमा अल्पसङ्ख्यकहरूको संरक्षण लगायतका बुँदाहरू पनि रहेका थिए। राष्ट्र सङ्घलाई २८ जुन १९१९ मा भर्सायको सन्धिको भाग १ को रूपमा हस्ताक्षर गरिएको थियो र यो १० जनवरी १९२० को बाँकी सन्धिसँगै प्रभावकारी भएको थियो। राष्ट्र सङ्घको परिषद्को पहिलो बैठक १६ जनवरी १९२० मा भएको थियो र सङ्घीय सभाको पहिलो बैठक १५ नोभेम्बर १९२० मा भएको थियो। सन् १९१९ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति उड्रो विल्सनले राष्ट्र सङ्घको प्रमुख वास्तुकारको भूमिकाका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।

सङ्घको कूटनीतिक दर्शनले अघिल्ला सयौँ वर्षबाट मौलिक परिवर्तनलाई प्रतिनिधित्व गरेको थियो। राष्ट्र सङ्घमा आफ्नै सशस्त्र बलको अभाव रहेको थियो र प्रथम विश्व युद्धका विजयी राष्ट्र फ्रान्स, बेलायत, इटाली र जापान कार्यकारी परिषद्का स्थायी सदस्यहरू थिए भने यसको प्रस्ताव लागू गर्न, आर्थिक प्रतिबन्धहरूलाई कायम राख्न, वा आवश्यक अवस्थामा सेना उपलब्ध गराउन राष्ट्र सङ्घ ती राष्ट्रहरूमा निर्भर थियो भने महान् शक्तिहरू प्राय: त्यसो गर्न अनिच्छुक थिए। स्वीकृतिले सङ्घीय सदस्यहरूलाई चोट पुर्‍याउन सक्ने अनुमान गर्दै राष्ट्रहरू त्यसलाई पालना गर्न हिचकिचाइरहेका थिए। दोस्रो इटाली-इथियोपिया युद्धको बेलामा, राष्ट्र सङ्घले इटालेली सैनिकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट आन्दोलनको चिकित्सकीय शिविरलाई निशाना बनाएको आरोप लगाएको थियो।

२८ सेप्टेम्बर १९३४ देखि २३ फेब्रुअरी १९३५ सम्म यसमा ५८ राष्ट्र आवद्ध भएका थिए। १९२० को दशकमा केही उल्लेखनीय सफलता र केही प्रारम्भिक असफलताहरू पश्चात्, राष्ट्र सङ्घ अन्ततः १९३० को दशकमा अक्ष शक्तिहरूको आक्रमणलाई रोक्न असमर्थ साबित भएको थियो। संयुक्त राज्य अमेरिका यसमा सामेल नहुनु, सोभियत सङ्घ यसमा ढिलो सामेल हुनु र फिनल्यान्डलाई आक्रमण गरे पश्चात् यसबाट सोभियत सङ्घको निष्कासन हुनुले यसको विश्वसनीयता माथि धक्का लागेको थियो। जर्मनी जस्तै जापान, इटाली, स्पेन राष्ट्र सङ्घबाट पछि हटेका थिए। सङ्घले यसको प्राथमिक उद्देश्य प्राप्तिमा असफलता प्राप्त गरेको थियो जुन भविष्यको कुनै पनि विश्व युद्ध रोक्नको लागि महत्त्वपूर्ण कदम हुन सक्दथ्यो। दोस्रो विश्वयुद्धमा निम्त्याउनुमा राष्ट्र सङ्घको विफलता प्रमुख कारण थियो। राष्ट्र सङ्घ २६ वर्षसम्म चलेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य पश्चात् संयुक्त राष्ट्र सङ्घले यसलाई प्रतिस्थापित गरेको थियोे र सङ्घले स्थापना गरेका धेरै संस्था र संगठनहरूलाई अधिकारमा ल्याएको थियो।