Back

ⓘ २०१० फिफा विश्वकप




                                     

ⓘ २०१० फिफा विश्वकप

चारवर्षको पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून स्थानीय समय अनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका र मेक्सिको बीचको खेलबाट १९औं विश्वकप फुटबलको साइत भयो । पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजीकिँदै जाँदा यसको खर्च, परिणाम, प्रभाव र प्रतिफलको जोडघटाउ जोडतोडमा भएको थियो । ३२ राष्ट्रको बहुप्रतीक्षित यस भिडन्तलाई रङ्गशालामै पुगेर या टेलिभिजनमा हेर्न विश्वभरका करोडौं फूटबलप्रेमीको अधैर्य बिच सन् १९९५ को रग्वी विश्वकप र २००३ को विश्वकप क्रिकेटको सफल आयोजना गरेको द. अफ्रिकाले यस महाकुम्भलाई अफ्रिका महाद्वीपकै गौरव बढाउने अवसरको उपयोग गर्न सफल भयो । अफ्रिकी सपना द.अफ्रिकाले १९औं विश्वकपलाई अविस्मरणीय बनाउन तीन वर्षकै अवधिमा उत्तरी डर्बनमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र ६४ खेलका लागि सरदर ५६ हजार दर्शक क्षमताका दश वटा भव्य रङ्गशाला तयार पारेको थियो । प्रतियोगिताका पूर्वाधार निर्माण र यसका अन्य परियोजनामा करिब ३.७ अर्ब अमेरिकी डलर खर्चको जोहो उसले गरेको छ । अन्तर्राष्ट्रिय फूटबल महासङ्घ ले पनि पुरस्कार, टिम र तयारीका लागि करिब ८० करोड डलरभन्दा बढी खर्च गरेको छ । फूटबलको महाकुम्भसँगै जोडिएर आउने पर्यटनबाट रु.२०० अर्ब र व्यापारबाट रु.८० अर्ब आम्दानी गर्ने अनुमान र खेल अवधिमा करिब चार लाख पर्यटक औसत १८ दिने बसाइका लागि दक्षिण अफ्रिका भित्रिने अनुमान गरिएको थियो । तयारीको अधिकांश खर्च आयोजक राष्ट्रले बेहोरे पनि आम्दानीमा फिफाको एकाधिकार रहने चलन छ, जसको पुष्टि रु.२२५ अर्बभन्दा बढी आम्दानी गर्ने उसको घोषित लक्ष्यबाटै हुन्छ । यसबाट आइलाग्ने अवगालबाट जोगिन उसले द.अफ्रिकालाई तयारीका लागि १० करोड डलर सहयोग गर्ने जनाएको थियो प्रतियोगितामा गरिएको लगानीबाट चालू आर्थिक वर्षमा द.अफ्रिकाको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट ३.५ प्रतिशतमा उक्लिने अनुमान अनुसार यो विश्वकपले सम्पूर्ण अफ्रिकी महाद्वीपकै अर्थतन्त्र, सामाजिक विकास र राजनीतिलाई समेत गति दिएको छ । त्यस कारण, यस महाद्वीपका द.अफ्रिका, अल्जेरिया, घाना, क्यामरुन, आइभरी कोष्ट, नाइजेरिया जस्ता द्वन्द्वको पीडा खेपेका मुलुकहरूका लागि यो विश्वकप सहभागिताबाहेक राष्ट्रिय र क्षेत्रीय मेलमिलापको अवसर पनि भयो । त्यही भएर अफ्रिकी महाद्वीपमा विश्व कप भित्र्याउन नेल्सन मण्डेला स्वयंले विशेष लबिङ गरेका थिए ।

                                     

1. डिजिटल विश्वकपका दाबेदार

फेसबुक र ट्विटरको सामाजिक सञ्जालबाट छिनछिनमा गरिएको विश्वकप-अपडेट यसपटकको फूटबल महाकुम्भको नयाँ आयाम हो । जर्मनीमा सम्पन्न पछिल्लो संस्करणताका यी विद्युतीय सञ्जालहरू उदाउँदो अवस्थामा थिए, जसले वितेका चार वर्षमा आश्चर्यजनक प्रभुत्व जमाइसकेको थियो । दैनिक ५ करोड सूचना आदानप्रदान हुने ट्वीटरमार्फत प्रतियोगिता चलिरहँदा सेकेण्डभरमा लाखौं सन्देश फूटबल फ्यानहरूबीच ट्वीट भएको अनुमान छ । ४० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्, फेशबुकका। त्यसमाथि छ, १६ लाखभन्दा बढी प्रयोगकर्ता भएको फिफाको आफ्नै सञ्जाल द क्लब । विश्वकप शुरु भएको निमेषभरमै इन्टरनेटको अर्को लोकप्रिय सञ्जाल युट्युबमार्फत अपलोड गरिएको भिडियोहरू संसारकै लागि आकर्षण थियो । रेफ्रीका विवादास्पद निर्णय हुन् वा आकर्षक गोल वा पेनाल्टी, संसारभरका दर्शकले युट्युबमार्फत दोहोर्‍याई तेहर्‍याई हेरेर प्रतिक्रिया दिएका थिए । यसैगरी, विभिन्न कम्पनीहरूले उपलब्ध गराउने थ्री-डी संस्करणका प्रत्यक्ष म्याचहरूले फूटबलप्रेमीहरूलाई पलभरमै अर्कै संसारमा हुत्याइदियो । फिफाले जोहानेसवर्ग, डर्बन, केपटाउन र पोर्ट एलिजावेथका पाँच रङ्गशालामा हुने २५ म्याचलाई थ्री-डी भर्सनमा प्रसारण गरेको थियो ।

                                     

2. म्याच हुने स्थान

सन् २०१० को विश्वकपको लागि फिफाद्वारा सन् २००६ मार्च १७ मा दक्षिण अफ्रिकाका ११ वटा शहर निर्धारित गरिएको छ जुन हुन् ब्लोमफोन्टेन, केप टाउन,डरबन, जोहानेसबर्ग२ स्थानमा, किमबर्ले,क्लर्क्सडोर्प, ओर्कने, पोलोकवेन,पोर्ट एलिजाबेथ, प्रिटोरिया तथा रस्टेनबर्ग । प्रतियोगिताको फाइनल खेल सकर सिटी,जोहानेसबर्गमा हुनेछ ।

                                     

3. यी पनि हेर्नुहोस

  • विश्वकप फुटबल २०१० का खेलहरू
  • फिफा विश्वकप - २०१० खेलाडी नामावली
  • फिफा FIFA
  • फिफा विश्वकप - २०१० सर्वश्रेष्ठ खेलाडी
  • फिफा विश्वकप - २०१०को अर्थशास्त्र
  • फिफा विश्वकप - २०१० रेफ्री विवाद
  • फिफा विश्वकप - २०१० का निराशाजनक प्रदर्शनी
  • फिफा विश्वकपहरू
  • फिफा विश्वकप
  • विश्वकप फुटबल २०१० का खेलाडीहरू