Back

ⓘ सुर्मा सरोवर जात्रा



सुर्मा सरोवर जात्रा
                                     

ⓘ सुर्मा सरोवर जात्रा

सुर्मा सरोवर जात्रा सुदुर पश्चिममा निकै लोकप्रिय जात्रा मध्य एक हो । दार्चुला जिल्लाको सदरमुकामबाट ४ दिन र हाल यातायातका साधन पुगेको ठाउँ लाटीनाथ गाविसबाट २ दिनको पैदल यात्रापछि खण्डेश्वरी गाविसको वार्ड नम्बर १ घाजिर गाउँमा पुग्न सकिन्छ । यस ठाउँमा परापूर्वकालदेखि नै सुर्माभवानीको मन्दिर पांङ्रजडि र विभिन्न मन्दिरहरू रहेका छन् ।

                                     

1. जात्रा लाग्ने समय

यहाँ प्रत्येक जोड वर्षमा सुर्माभवानीको ठूलो जात्रा लाग्ने गर्दछ भने प्रत्येक विजोड वर्षमा सानो जात्रा लाग्ने गर्दछ । यस जात्राको सुरुवात घाजिरमा रहेको सुर्माभवानी देवीको मन्दिरबाट सुरु हुन्छ । यसलाई पांजरथली पनि भनिन्छ । यो जात्रा हरेक वर्ष जनैपूर्णिमाको पाँच दिन अगाडि सुरु हुने गर्दछ । यस जात्रामा विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू जाने गर्दछन् । घाजिरबाट सुरु भएको जात्रा क्षेत्ती हुँदै बझाङ जिल्लामा रहेको सुर्मा सरोवर स्नान गरेर पुनः क्षेत्ती हुँदै घाजिरमा सुर्माभवानी मन्दिरमा आएर पट्खेलोमा पुगेर समापन हुन्छ ।

                                     

2. जात्रामा सहभागिता

जात्रामा सहभागी हुने श्रद्धालु भक्तजनहरूले जनैपूर्णिमा पूर्वको औंसीदेखि माछा, मासु, लसुन, प्याज नखाएर उपवास बसी चोखो निउतो भएर बस्नुपर्ने परम्परा रहेको छ । यस जात्रामा घाजिर क्षेत्तिमा महिला, पुरुष, केटा, केटी सबैजसो मानिस सहभागी हुने गर्छन भने सुर्मासरोवर जात्रामा पुरुषहरूको मात्र सहभागीता रहन्छ । जो व्यक्तिलाई वीरे भनिन्छ । पहिलोचोटी घाजिर, क्षेत्तिबाट र अन्य ठाउँबाट सुर्मासरोवरसम्म जाने श्रद्धालु भक्तजनहरूलाई बालो वीरे भनिन्छ भने एक चोटी भन्दा बढी पटक सुर्मासरोवर जात्रामा सहभागी भै सकेकालाई बुढोवीरे भनिन्छ । यस जात्रामा परापूर्वकालमा सुर्मा देवी बझाङबाट दार्चुला जिल्लाको घाजिर क्षेत्ती हुँदै विनायक, कालागाड, दुबैकोधार, वीरेओडार, सुर्माको सेरो, नवाडाँडा हुँदै सुर्मासरोवर रहेको स्थानसम्म महिलाको भेषमा जानु भएको भन्ने भनाई रहेको हुँदा हाल सुर्माभवानीको दर्शन गर्न जाने वीरेहरूले पनि महिलाको भेषमा गादो पारेर मुख छोपेर जानुपर्ने हुन्छ । वीरेहरूले हातमा निगालोबाट बनेको लठ्ठी जसलाई वीरे लौरी भनिन्छ । जात्रामा सहभागी हुने वीरेहरूले खाली खुट्टा जानु पर्दछ भने क्षेत्ति र घाजिरमा समेत जात्रा हेर्न गएका सबै सहभागीहरूले पनि खाली खुट्टा बस्नुपर्ने हुन्छ । घाजिरबाट सुरु भएको जात्रामा जात्रालाई लिड गर्ने अर्थात नेतृत्व गर्ने प्रमुख व्यक्तिलाई स्थानिय भाषामा मुला भन्ने गरिन्छ । घाजिरदेखि सुर्मासरोवरसम्मको बाटोभरिमा जात्रामा मुलाको निर्देशन अनुसार जानुपर्ने हुन्छ । वीरेहरूको लठ्ठीको आकार पनि फरक हुने गर्दछ । जात्राको नेतृत्व गर्ने मुलाको वीरे लौरीको लम्बाई सात हात, कनिष्ट मुलाको लौरीको लम्बाई ६ हात र वीरेहरूको लौरीको लम्बाई ५ हात हुने गर्दछ । घाजिरको सुर्मा मन्दिरबाट सुरु भएको जात्रामा वीरेहरूलाई सुर्मामाईका छोरा धौलापुर देउताको धामी कापेर घाजिर गाउँबाट विदाई गरी क्षेत्तीतर्फ प्रस्थान गर्दछन् । बाटोमा सुर्मा देवीले परापूर्वकालमा लसुन पिसेको ढुङ्गा, नागको मूर्ति भएको ठाउँ हुँदै जात्रा अगाडि बढ्छ । क्षेत्तीभन्दा तलबाट जात्रामा सहभागी हुनेहरूलाई उनादेसी भनिन्छ भने क्षेत्तीबाट सहभागी हुनेहरूलाई उवादेसी भनिन्छ । ती बाहेक अरु ठाउँबाट जात्रामा सहभागी हुने वीरेहरूलाई बाइदेसी भन्ने चलन परापूर्वकालदेखि रहि आएको छ । वीरेहरू एवं जात्रामा सहभागी भएका श्रद्धालु भक्तजनहरू क्षेत्ती नजिक पुग्दा महिलाहरूको समूह क्षेत्ती र घाजिरका समूहबीच एकछिन रमाइलो वातावरणमा चाह खेल्ने गर्दछन् । जात्रा सुरु हुँदा देवीको स्तुती चाह तथा अन्य देउडाहरू पनि गाउने गर्दछन् । महिलाहरूको चाह खेल्ने कार्यक्रमपछि वीरेहरू पुनः अगाडि बढ्छन् । क्षेत्ती र घाजिरका वीरेहरू र दुबैतर्फका मुला एवं जात्रामा सहभागी सबैको भेटघाट हुन्छ । त्यस दिनको बसाई क्षेत्तीमा हुन्छ । दोस्रो दिन क्षेत्तीबाट विहान सबेरै पुरुषहरूमात्र जसलाई स्थानिय भाषामा वीरेहरू भनिन्छ उहांहरूलाई धौलापुर, डाँडाबाघ देवताहरूले काँपेर आर्शिवाद दिँदै ढकेहरूले ढाको बजाउँदै वीरेहरूलाई आशिर्वाद दिएर चाह चाह गाउँदै हातमा वीरे लौरो लिएर कापु खोलाको किनारै किनार मुलाहरूको नेतृत्वमा वीरेहरूको समूह अगाडि बढ्छ । परापूर्वकालमा सुर्मादेवीले अन्नी खाएको ठाउँ हुँदै जात्रा उकालो बाटो लाग्छ । वीरेहरूसँग चामलबाट बनाएको एकप्रकारको प्रसाद जसलाई कसार भनिन्छ । उक्त कसार विभिन्न ठाउँमा स्थापना गरिएका देवीका मूर्तिहरूमा चढाउँदै देवीको स्तुती गाउँदै विनायक, कालागाड दुवैको खान हुँदै रातिको बास बस्न वीरे ओडार पुगिन्छ ।

                                     

3. वीरेहरू दौड

त्यसराति खाना नखाई रातको बासपछि तेस्रो दिनको विहान सुर्मा सेरो हुँदै फेरी वीरेहरूको यात्रा अगाडि बढ्छ । वीरेहरूको समूह नवाडाँडा पुगेपछि नौला वीरे अर्थात् बालोवीरेहरूले यताउता कहिँपनि नहेरी हिँड्नुपर्ने हुन्छ । नौला वीरेहरू सुर्मासरोवर पुग्ने बेलामा देवीको दर्शन बाहेक अन्त कतै नहेरी सुरुमा निहुरिएर त्यसपछि घुँडा कुहिनोले टेकेर सुर्मासरोवर नजिक पुग्दा भुँइमा लम्पसार परि घस्रेर जाने गर्दछन्, उक्त समयमा नौला वीरेहरूलाई दायाँ बाँयाबाट बुढो वीरेहरूले डोर्याउने गर्दछन् यो चलन परापूर्वकालदेखि चल्दै आएको हो । सुर्मासरोवरमा पुगेपछि नौला वीरेहरू मुख छोपेर बसिरहनु पर्छ भने समूहका नाइके मुलाले सुर्मासरोवरको कुण्ड रहेको ठाउँबाट जल भर्ने हातमा बोकेर लगेको वीरे लौरोलाई कुण्डमा ज्वार गर्ने र आफूले देवीको नाममा भाकल गरेको सामान कुण्डमा एवं मन्दिरमा धूपबत्ती बालेर पूजाआजा गर्ने गर्दछन् । त्यसपछि सबै उनादेसी, उवादेसी एवं वाइदेसी सबैले सुर्मासरोवरको जल ग्रहण गरी गङ्गामाटी झिकी प्रसादको रूपमा लिने गर्दछन् । सुर्माभवानीको मन्दिरमा पूजा पछि वीरेहरूको यात्रा फिर्ता हुने क्रम सुरु हुन्छ । पुनः सुर्मासरोवरबाट हिँडेर वीरे ओडारमा बास बस्न पुग्छन् । त्यसराति पुरी पकवान पकाएर खाने गरिन्छ । त्यसपछि चौथो दिनको विहान वीरे ओडारबाट पुनः तीर्थयात्रीहरू फर्केर क्षेत्तीका लागि अगाडि बढ्छन् । बाटोमा कालागाडबाट अगाडि आइसकेपछि नौला वीरेहरूको दौड सुरु हुन्छ जसलाई वीरे दौड्ने डाँडो भनिन्छ । दौडमा प्रथम द्वितीय हुने वीरेहरूलाई स्याबासी स्वरुप अबिर लगाएर दुबो हाल्दै सम्मान गर्ने चलन रहेको छ । वीरे दौड समाप्त भएपछि तीर्थयात्रीहरू दार्चुला र बझाङको सिमाना विनायक पुगेपछि देवीको प्रसादको रूपमा त्यस क्षेत्रमा मात्र पाइने ब्रम्हकमल फूल वीरेहरूको नेतृत्व गर्ने मुलाले फूल टिप्नु भनेपछि मात्र फूल टिपेर अगाडि बढ्नुपर्ने हुन्छ । प्रशस्त मात्रामा रंगीविरंगी फूलहरूको बीचमा ब्रम्हकमल फूलको सौन्दर्यता जति हेरेपनि हेरिरहु हुन्छ । फूलहरूको भारी बनाएर वीरेहरू माला साँट्ने बगर पुगेपछि वीरे लौरो सजाउने एवं माला बनाएर वीरेहरू ब्रम्हकमल फूलको माला टाउकोमा घाँटीमा भिरेर रंगीचंगी, झकिझकाउ भएर रमाइलो वातावरणको साथ वीरेहरू क्षेत्तीमा पुग्छन् । जहाँ हजारौंको संख्यामा वीरेहरूको स्वागतका लागि मानिसहरू बसेका हुन्छन् ।



                                     

4. जात्राको समापन

पाँचौं दिन क्षेत्तीमा बसाई सँगै प्रत्येक घरघरमा गएर जात्रामा गएका भक्तजनहरू प्रसाद ग्रहण गर्ने गर्दछन् भने वीरेहरूले सुर्मासरोवारबाट ल्याएको गङ्गामाटी र ब्रम्हकमलको फूल प्रसाद दिंदै घरघरमा गएर पुरी पकवान प्रसादको रूपमा खाने गर्दछन् । क्षेत्तीमा परापूर्वकालदेखिका विभिन्न मठ मन्दिरहरू रहेका छन् । जसमा मारखण्डे गुफा, सिद्धगुफा, रुपसेधारा, कामधेनु गाई, प्राचिनकालमा सिद्धमायाले खाना पकाएको ठाउँ ताउलो घोप्टे, भादल गोप्टे लगायतका प्राचिनकालिन धार्मिकस्थलहरूको दर्शनपछि पुनः वीरेहरूको यात्रा घाजिरको लागि प्रस्थान हुन्छ । अघि अघि वीरेहरू ढाको बजाउने मानिसहरू त्यसपछि जात्रामा सहभागी हजारौं मानिसहरू सहभागी भएर क्षेत्तीबाट घाजिर पुग्छन् । घाजिरस्थित सुर्मादेवीको मन्दिरमा पुगेपछि वीरे लौरो ज्वार गरी धौलापूर देवता कापेर सबै वीरेहरू एवं जात्रामा सहभागी श्रद्धालु भक्तजनहरूलाई वर दिएपछि जात्रा समाप्त हुन्छ । जात्राका बारेमा विभिन्न व्यक्तिहरूको भनाइ यस्तो छ । पाँचौ दिनमा घाजिरस्थित सुर्माभवानीको मन्दिरमा बसाईपछि छैठौं दिनको विहान क्षेत्तीमा बसोबास गर्ने समूदायको घरको जेठो छोराको छैठी दिने परम्परा रहेको छ । सामान्यतया बच्चा जन्मेको ६ दिनमा छैठी मनाउने चलन रहेतापनि यहाँका मानिसहरूले दुई चोटी छैठी मनाउने परम्परा अनुरुप घरको जेठो छोरालाई आमाबुवा दाजुभाइ इष्टमित्र सबैले टीका लगाएर आर्शिवाद दिंदै घरभित्र पूजा सकिएपछि छैठी मनाउन बच्चालाई नयाँ लुगा, शिरमा पगडी बाँधेर घरको आँगनमा राख्ने चलन छ । घरको आँगनमा पनि गाउँमा नातागोता इष्टमित्रहरूले आर्शिवाद दिएपछि त्यहाँ दुलहा जस्तै सिंगारिएका छैठी हुने व्यक्तिलाई काँधमा बोकेर गाउँभरिका सबै छैठी मनाएका मानिसहरू एकै ठाउँमा बसाएर समूहमा जम्मा गराई बोका काटेर आफन्त इष्टमित्र सबैले गच्छेअनुसारको दक्षिणा दिएर भोज खुवाउने चलन रहेको छ । आजभोलि विभिन्न समुदायमा पश्चिमा संस्कृति भित्रिरहेको अवस्थामा यहाँका मानिसहरूमा आफ्नो संस्कृति, भेषभूषा र प्राचिन परम्परागत फाग, मांगल एवं देउडा चाहप्रति यहाँ मानिसहरूबीच लोकप्रिय छ ।

                                     

5. बाह्यलिङ्कहरू

  • पर्यटकीय सम्भावना बोकेको बझाङको सुर्मा सरोवर- सि.आर.आइ अनलाईन
  • सुर्मा सरोवरमा हिउँ परिरह्यो, फुरुरु, फुरुरु, फुरुरु……-सेतो परेवा
  • यू-ट्युबमा सुर्मा सरोवर जात्रा
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →