Back

ⓘ चेपाङ जाति




चेपाङ जाति
                                     

ⓘ चेपाङ जाति

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसङ्ख्या ६८,३९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजङ्गल र जमिनसँग अति नजिकसँग जोडिएको छ । त्यसैले उनीहरूको बसोबास वनजङ्गल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको पाइन्छ । घरहरू सामान्यतया एकतले ढुङ्गा र माटोले बनेको र खरले छाएको पाइन्छ । कतिपय चेपाङहरूको घर भने काठ तथा जस्ता पाताले बनाइएको पनि पाइन्छ । चेपाङहरू आगन्तुकलाई अन्य समुदायसँग कम घुलमेल हुने र लज्जालु हुन्छन्। शारीरिक रूपमा होचा तर मांशपेसीदार हुन्छन्। उनीहरूको पुख्र्यौली पेशा खोरिया खेती नै हुन्। हाल आएर आधुनिक जीविकोपार्जनका माध्यमहरू कृषि, तरकारी खेती पशुपालन व्यापार व्यावसाय तर्फ पनि यी समुदाय उन्मुख छन्।

चेपाङहरूको पहिचान आफ्नो संस्कार, भेषभूषा, भाषा, संस्कृति एवम् परम्परागत सीपको आधारमा बनेको छ । चेपाङहरूको मुख्य बसोबास क्षेत्रमा च्यूरीको रूख पाइन्छ । यसले उनीहरूको पहिचान बोकेको पाइन्छ । वि. सं. २०३४ सालको तत्कालीन राजाको भ्रमणपछि उनीहरूले आफ्नो जातीय नाम चेपाङबाट प्रजा बनाए । जुन बेलामा सरकारको रूपमा बसेको राजा वीरेन्द्रले अति नै गरिबीको कारण ‘प्रजा भन्नू’ भनी आदेश गरे। २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागू पनि गरियो। तर चेपाङ अगुवा तथा अधिकारकर्मीहरूले आफ्नो जातीय पहिचानलाई मेटाउन नचाहेकोले गर्दा पछि आएर ‘चेपाङ हौँ’ भनी अगाडि बढ्न थाले। चेपाङहरूको आफ्नै मातृभाषा छ । यिनीहरूको भाषा भोट–बर्मेली परिवारसँग मिल्दोजिल्दो छ । परापूर्व कालदेखि आफ्ना दैनिक व्यावहारिक चलनमा आफ्नै भाषा लैको भाषा प्रयोग गरिन्थ्यो। चेपाङको आफ्नै भाषा भए पनि लिपि भने भने पाइएको छैन ।

चेपाङहरूको परम्परागत धर्म प्राकृतिक धर्म हो। जस अनुरूप चेपाङहरूले सिमेभुमे देखि रूखलाई सम्म पूजा गर्छन्। खेतीबाली लगाउनुभन्दा अगावै भुइँ झ्यासा भूमि पूजा गर्ने गरिन्छ । यो पूजा प्रायः माघ र फागुनमा गर्ने गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र मकै खान्छन् भने निबुवा, बिमिरो, पिडाँलु, घैंया धान आदि चाहिँ छोनाम गरी पितृलाई नबुझाइकन खाँदैनन्। भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो। कतिपय चेपाङले पछिल्लो समयमा क्रिश्चियन धर्म पनि अँगालेका छन। चेपाङहरू लोकसंस्कृतिमा धनी छन्। सङ्गीत र गीतको हिसाबले यिनमा थुप्रै विषयको लोकगीत र सङ्गीतको भण्डार छ । उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउँछन्। चेपाङहरू लोककथा, काव्य, उखान आदि जस्ता परम्परागत साहित्यमा पनि धनी छन्। यो भाषाको गीत पनि छ विन्राई लोककथाहरू परापूर्वकालदेखि पुर्खाले आफ्ना शाखा सन्तानहरूलाई सुनाइ आएका कथाहरू हुन्। पुस्तौं पुस्तासम्म एकदेखि अर्कोमा हस्तान्तरण हुँदै सर्दै जान्छ । यी विन्राईहरूमा पृथ्वीको सृष्टि, मानिसहरूको पृथ्वी, वनजङ्गल, पहाड पर्वत, जीवजन्तु आदिसँगको अन्तक्र्रिया, सम्बन्धको बारेमा उल्लेख गरिएको पाइन्छ । चेपाङहरूको परम्परागत भेषभूषामा महिलाको लागि गुन्यू–चोलो र पुरूषको लागि दौरा–कछाड र त्यसमा जाली भिरिएको स्टकोट हुन्छ । साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ । चेपाङहरूको परम्परागत गरगहनाको रूपमा मुगा, हारेमाला आदि छन्। हाल चेपाङ समुदायकामानिसहरूको पहिरनमा मिसावट आएको देखिन्छ । पुरूषहरू प्रायःजसो सर्ट, कट्टु, पाइन्ट, टोपी आदि लगाउँछन्। महिलाहरू लुंगी, ब्लाउज लगाउछन। कतिपय महिला र बालबालिकाहरू कुर्ता सुरुवाल र पाइन्ट, टी–सर्ट आदि पनि लगाउँछन्। प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।